कात्तिक २१ गते । कञ्चन
कञ्चन गाउँपालिका–हरैयास्थित हरैया बहुमुखी क्याम्पसको २०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सभामा वक्ताहरूले ग्रामीण क्षेत्रका नागरिक, विशेषगरी महिलालाई उच्च शिक्षाको पहुँचमा पुर्याउन क्याम्पसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।



कार्यक्रमका प्रमुख अतिथि कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनलाई शिक्षाको हबका रूपमा विकास गरी शिक्षित र दक्ष नागरिक उत्पादन गर्ने योजना रहेको बताउनुभयो। उहाँले लामो समयदेखि भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकलाई स्वामित्वसहितको जग्गाधनी बनाउने पहल भइरहेको र लालपुर्जा वितरणमा संघीय सरकारको अस्थिरताका कारण अवरोध भइरहेको उल्लेख गर्नुभयो।
त्यस्तै, विशिष्ट अतिथि कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले हरैया बहुमुखी क्याम्पसले ग्रामीण क्षेत्रका महिलालाई घरआँगनमै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको बताउनुभयो। गैडहवा गाउँपालिकाकी उपाध्यक्ष माधुरी जैसवालले पनि क्याम्पस स्थापनापछि तराईका दूरदराजमा रहेका महिलाका लागि उच्च शिक्षाको बाटो खुलेको धारणा राख्नुभयो।
क्याम्पस प्रमुख प्रकाश खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालमा स्थापना भएको क्याम्पसले २०८३ सालमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरी शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। उहाँले क्याम्पसले आगामी दिनमा उच्च शिक्षाको गुणस्तर र संस्थागत विकासलाई थप प्रभावकारी बनाउने चुनौती रहेको बताउनुभयो।
कार्यक्रममा कार्यवाहक अध्यक्ष पुष्पराज शर्माले क्याम्पसमा शिक्षा शास्त्र र व्यवस्थापन संकायमा अध्ययन–अध्यापन भइरहेको तथा हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँका अनुसार क्याम्पसमा ३ सय ६२ आजीवन सदस्य र १ सय ९८ साधारण सदस्य गरी कुल ५ सय ६० सदस्य रहेका छन्।
सभाको अवसरमा नयाँ आजीवन तथा साधारण सदस्यलाई स्वागत गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक, कर्मचारी र क्याम्पसको विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम कार्यवाहक अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा क्याम्पसका लेखा अधिकृत कपिलमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।




