कात्तिक २१ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनस्थित नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्दै स्थानीय बासिन्दासँग संवाद गर्नुभएको छ।



शुक्रबार बिहान उहाँले भरतपुर महानगरपालिका–१ र ३ अन्तर्गत नारायणी नदी किनारका विभिन्न बस्ती तथा जोखिमयुक्त क्षेत्रको अनुगमन गर्नुभएको हो। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसपछिको वर्षाका कारण नारायणी नदी आसपासका क्षेत्रमा कटान बढ्दै जाँदा बस्ती तथा संरचनामा जोखिम थपिएको छ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले नदी कटान नियन्त्रणका लागि दीर्घकालीन तथा प्रभावकारी तटबन्ध निर्माण गर्नुपर्ने, जोखिममा रहेका बस्ती र संरचनाको संरक्षण गर्नुपर्ने माग राखेका छन्।
स्थानीयका समस्या सुन्नुभएका सभापति लामिछानेले नदी कटानको जोखिमबारे आफू जानकार रहेको र यसअघि पनि जोखिम न्यूनीकरणका लागि पहल गरिएको बताउनुभयो। उहाँले यो प्राविधिक विषय भएकाले अध्ययन तथा अनुसन्धानको प्रतिवेदनका आधारमा दीर्घकालीन समाधान खोजिने बताउनुभयो।
साथै, जनताको जिउधनको सुरक्षाका लागि राज्यले गर्नुपर्ने काम गर्नेमा ढुक्क रहन उहाँले स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ।




