१९ कात्तिक,
जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गरिएको छ। जनसरोकार अभियानले रेल सेवामा सुधारको माग गर्दै नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको हो।



अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको छ।
अभियानले यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा स्वच्छ खानेपानीको उचित व्यवस्था गर्न माग गरेको छ।
त्यसैगरी, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास गर्न पनि आग्रह गरिएको छ। साथै, हाट बजारको व्यवस्थित सञ्चालन, सडक तथा छेकबारको उचित व्यवस्थापन गरी रेल सेवालाई सुरक्षित, सहज र आकर्षक बनाउन अभियानले माग गरेको छ।




